फाइल तस्वीर

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले आगामी मङ्सिर ४ गते हुने भनिएको निर्वाचन हुनेप्रति अझै ढुक्क हुनसक्ने अवस्था नरहेको बताउनु भएको छ । एमाले नेता नेम्वाङले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो आशङ्का व्यक्त गर्नुभएको हो ।

एमाले उपाध्यक्ष नेम्वाङले सत्ता गठबन्धन दलहरु प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा जान डराइराखेका छन् भन्दै निर्वाचन हुनेमा ढुक्क हुने अवस्था नरहेको जिकिर गर्नुभयो ।

एमाले नेता नेम्वाङले निर्वाचनपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा आगामी सरकार बन्ने दावी समेत गर्नुभयो । निर्वाचनमा एमालेलाई जिताउनका लागि तयारीमा जुट्न आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

नेता नेम्वाङले ‘सरकार निर्वाचनदेखि डराइरहेको छ । आफूलाई लोकतान्त्रिक शक्ति हुँ भन्ने नेपाली काङ्ग्रेस नेतृत्वको सरकार गठबन्धन बनाएर पनि एमालेसँग चुनाव लड्न डराइराखेको छ’ भन्दै सरकारले लोकतान्त्रिक विधि र प्रक्रियालाई समेत लत्याएको आरोप लगाउनु भयो ।