फाइल तस्वीर


मोरङ – सत्ता गठबन्धन दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली काङ्ग्रेसका कारण सिट बाँडफाँट टुङ्गो लाग्न नसकेको बताएको छ । आज शनिबार बिराटनगरमा आयोजित पार्टीको भातृ सङ्गठन पेशागत महासङ्घको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्ने क्रममा यस्ता अभिव्यक्ति सार्वजनिक गर्नुभएको हो ।

अध्यक्ष नेपालले ‘हामीले छलफल चलाइरहेका छांै, तर काङ्ग्रेसमा दम्भ र अहङ्कार देखिएको छ, अस्वभाविक दाबी गरेको छ’ भन्नुभयो । नेता नेपालले नेपाली काङ्ग्रेसले ‘हामीलाई सय सिट चाहियो । उब्रिएको तिमीहरु बाँड’ भनेर अड्डि लिएको हुँदा सिट बाँडफाँडको विषय नटुङ्गिएको खुलासा गर्नुभयो ।

अघिल्लो निर्वाचन (२०७४ साल) मा २३ सिट मात्र जितेको काङ्ग्रेसलाई त्यसको तीन गुनासम्म दिन सकिने भन्दै नेकपा एसका अध्यक्ष नेपालले सिट बाँडफाँडमा सहमति नजुटे एक्लै चुनाव लड्ने बताउनु भयो । नेता नेपालले भन्नुभयो ‘हामीले उनीहरुलाई जवाफ दिएका छौं, हैसियतभन्दा बढी माग्ने काम नगर ।’