फाइल तस्वीर ।

विराटनगर– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकका सबै इमान्दार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकता हुने बताउनु भएको छ । अध्यक्ष नेपालले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मुलुकका सबै सच्चा इमान्दार वामपन्थी विचारधारा बोकेका पार्टी एकताबद्ध हुनुपर्ने धारणा व्यक्त गर्नुभएको हो ।

नेकपा(एस) अध्यक्ष नेपालले इमान्दार वामपन्थी दलहरुसँग एकताकासम्बन्धमा छलफल कुराकानी चलिरहेको खुलासा गर्नुभयो । सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले मुलुकका सबै सच्चा इमान्दार वामपन्थी विचारधारा बोकेका पार्टी एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

पत्रकारहरुको प्रश्नको जवाफ दिंदै नेता नेपालले जित्ने आधार र विगतमा गठबन्धन दलहरुका उम्मेदवारहरुले जितेको सिटको आधारलाई टेकेर गठबन्धन दलहरुबीच बाँडफाँट हुने दावीसमेत गर्नुभयो ।

अध्यक्ष नेपालले लोकतन्त्रको सुदृढीकरण, सङ्घीयताको कार्यान्वयन, सुशासन र मुलुकका लागि वर्तमान अवस्थामा गठबन्धन दल मिलेर जानु पर्ने आवश्यकता रहेको बताउनुभयो । नेता नेपालले सिट बाँडफाँटको चाँडै टुङ्गो लाग्ने विश्वास व्यक्त गर्दै विगतमा एमालेले ल्याएको नागरिकतासम्बन्धी अध्यादेशअनुसार नै वर्तमान सरकारले विधेयक ल्याएको हुँदा यसको विरोध गर्नुको कुनै अर्थ नरहेको जिकिर समेत गर्नुभयो । अध्यक्ष नेपाल पार्टी कार्यक्रमको शिलसिलामा विराटनगर पुग्नुभएको हो ।