फाइल तस्वीर


काठमाडौं – नेपालमा विवाह र विभिन्न चाडपर्वको अवसरका निम्ति एक वर्षमा पौने चार अर्ब रुपैयाँभन्दा बढीको सारी, धोती, लिङ्गा र लुङ्गी आयात भएकोे छ । भन्सार विभागको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा पौने चार अर्बभन्दा बढी मूल्य बराबरको सारी, धोती, लिङ्गा र लुङ्गी आयात भएको हो ।

यस अवधिमा नेपालमा ३ अर्ब ८५ करोड २८ लाख ८५ हजार रुपैयाँको सारी, धोती, लिङ्गा र लुङ्गी भित्रिएको विभागले जनाएको छ । विभागका आनुसार भारत, चीन, बंगलादेश, सिङ्गापुर, श्रीलङ्का मलेसिया, भुटान, इन्डोनेसिया, थाइल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, नेदरल्याण्ड्स, बेल्जियम, नामिबिया, अष्ट्रेलियालगायत विभिन्न मुलुकबाट ति सामानहरु आयात हुने गरेको छ ।

यसरी आयात हुने सारी, धोती, लिङ्गा र लुङ्गी सबैभन्दा धेरै भारतबाट आयात हुने गरेको विभागको तथ्याङ्कमा उल्लेख छ । गत आर्थिक वर्ष मात्र भारतबाट ३ अर्ब ७५ करोड ८७ लाख ७ हजार रुपैयाँको सारी, धोती लिङ्गा र लुङ्गी आयात भएको थियो ।

चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो महिना साउनमा विभिन्न देशबाट २० करोड ७९ लाख २८ हजार रुपैयाँको सारी, धोती, लिङ्गा तथा लुङ्गी नेपाल भित्रिएको छ । जसमध्ये भारतबाट मात्रै २० करोड ५२ लाख ७१ हजार रुपैयाँको सारी, धोती लिङ्गा तथा लुङ्गी आयात भएको भन्सार विभागको तथ्याङ्क छ ।