फाइल तस्वीर

कास्की – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि सत्तागठबन्धन दलमा सिट बाँडफाँटको अन्तिम गृहकार्य भइरहेको बताउनु भएको छ ।

‘सिट बाँडफाँट न्यायोचित र सहमतिका साथ हुनुपर्छ,’ पार्टीनिकट आदिवासी जनजाति महासंघ कास्कीको प्रथम भेलाको पोखरामा शुक्रबार नेपालले भन्नुभयो, ‘आफ्नो पार्टी सकेसम्म सबैको सम्मान हुने गरी सहमति गर्ने गरी अघि बढेको छ ।’

गठबन्धनमा सिट बाँडफाँट सम्मानजनक र सहमतिका साथ हुनुपर्नेमा उनले जोड दिए । माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चालगायतका कम्युनिस्ट पार्टीसँग पार्टी एकताको कुराकानी र वार्ता संवाद चलिरहे पनि चुनावअघि एकता नहुने उनले बताए ।

‘चुनावी तालमेलपछि विचार मिल्दै गयो, काम गर्ने सोच र दृष्टिकोण मिल्यो भने सबै आन्दोलनलाई एकताबद्ध बनाउने पक्षमा छौँ । अलग–अलग चुलो बाल्न चाहँदैनौँ, अलग–अलग पसल थाप्न चाहँदैनौँ, सबैलाई एउटै ठाउँमा एउटै छातामुनि ल्याउन चाहन्छौँ,’ नेपालले भन्नुभयो, ‘चुनावअघि कसैसँग मिल्न गइरहेका छैनौँ, अहिले सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गरेर लाग्ने पक्षमा छौँ ।’

अध्यक्ष नेपालले गठबन्धनको मात्र भर नपरी आफ्नो जिल्ला र प्रदेशमा पार्टीको नीति प्रचार गर्न र जनवर्गीय संगठनको विस्तारमा ध्यान दिन पार्टीका नेता–कार्यकर्तालाई आग्रह समेत गर्नुभयो । लोपोन्मुख जाति, भाषा, संस्कृतिको रक्षाका लागि सरकारले ध्यान दिनुपर्नेमा उहाँको जोड थियो । रासस