फाइल तस्वीर

सुर्खेत – सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीभित्र चरम गुटबन्दी रहेको खुलासा गर्नु भएको छ । शुक्रबार सुर्खेतमा आयोजित प्रशिक्षण कार्यक्रममा कर्णाली प्रदेशका पार्टी कार्यक्रतालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी भित्र गुट मौलाएको बताउनु भएको हो ।

अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशमा भन्दा अन्य प्रदेशका पार्टी समितिहरुमा गुटबन्दी चरम भएको भन्दै पार्टी निर्माणका लागि सबैले गुटगत मानसिकता त्याग्नुपर्नेमा जोड दिनुभयो । गुटबन्दीकै कारण पार्टीमा समस्या आएको बताएको दावी समेत गर्नुभएको छ ।

अन्य प्रदेशमा गुटका कारण बोलचालसमेत बन्द भएको भन्दै अध्यक्ष प्रचण्डले माओवादी अब साँच्चिकै जनताको पार्टी बन्ने हो भने सच्चिनुपर्ने विकल्प नरहेको धारणा राख्नुभयो । स्वार्थ समूह र गुटबन्दी नत्यागेसम्म पार्टी निर्माण गर्न नसकिने अध्यक्ष प्रचण्डको भनाइ थियो । आगामी निर्वाचनमा उम्मेदवार छनोट गर्दा जनजाति, दलित र पछाडि पारिएका समुदायका योग्य र सक्षम व्यक्तिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ ।
माओवादी केन्द्रले कर्णाली प्रदेशका सबै १० वटा जिल्लाका कार्यकर्ताहरुलाई सुर्खेतमा प्रशिक्षण कार्यक्रम राखेको थियो ।