फाइल तस्वीर

सुर्खेत – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एकीकृत समाजवादी) सँग पार्टी एकताको प्रक्रिया अघि बढेको खुलासा गर्नुभएको छ । अध्यक्ष प्रचण्डले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एउटै घोषणापत्र बनाएर भाग लिने प्रयास पनि भइरहेको समेत पत्रकारहरुसँगको भेटघाटका क्रममा बताउनु भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सुर्खेतमा आयोजित पत्रकार सम्मेलतमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिंदै ‘हामी अब समाजवादीसँग एक खालको एकताको तयारी पनि गर्दैछौं ’ केही समयपछि पार्टी एकता संयोजन समिति बन्ने सम्भावना छ’ भन्नुभयो ।

सोहीक्रममा अध्यक्ष प्रचण्डले निर्वाचनलाई लक्षित गरी ‘चुनावी घोषणापत्र एउटै हुने तिर पनि हाम्रो प्रयास भइराख्या छ’ भन्ने कुराको जानकारी पनि गराउनु भएको छ । तर प्रचण्डले चुनाव चिह्न भने आ–आफ्नै हुने खुलासा पनि गर्नुभयो ।

अध्यक्ष प्रचण्डले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि गठबन्धन दलहरुबीच निर्वाचन क्षेत्र तोकेरै सिट बाँडफाँट हुने पनि दावी समेत गर्नुभएको छ ।