फाइल तस्वीर

नयाँ दिल्ली –भारतले अहिलेसम्म कसैको पनि जमिन कब्जा नगरेको दाबी गर्दै आफ्नो जमिन पनि कब्जा गर्न नदिने बताएको छ । भारतीय विदेश राज्यमन्त्री मीनाक्षी लेखीले नयाँदिल्लीस्थित नेपाली दूतावासले हिजो आयोजना गरेको तीज विशेष कार्यक्रममा बोल्दै विदेश राज्यमन्त्री लेखीले त्यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

राज्यमन्त्री लेखीले उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाल, चीन वा पाकिस्तान कुन मुलुकसँगको सीमा समस्याबारे बताउन खोज्नु भएको हो भन्ने स्पष्ट छैन । यद्यपि, नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा बोल्दा यो अभिव्यक्ति नेपालप्रति लक्षित भएको हुनसक्ने विश्लेषण पनि गरिएको छ । भारतको यी तीनवटै देशहरुसँग लामो समयदेखि सीमा विवाद कायम छ ।
भारत र नेपालबीच लिपुलेक, लिम्पियाधुरा र कालापानीको विवाद कायमै छ । नेपालको कालापानी क्षेत्रमा दशकौंदेखि भारतीय सेनाले कब्जा जमाएर बसेको छ । सीमा समस्या वार्ताका माध्यमबाट हल गर्न नेपालले ताकेता गरिरहेको भए पनि भारतले यस विषयमा कुनै चासो दिएको छैन । उल्टै नेपाललाई पेल्दै आएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपालले २ वर्षमा चारपटक सीमा वार्ताका लागि भारतलाई पत्र लेखिसकेको छ । यसप्रति भारतले अहिलेसम्म कुनै चासो र जवाफ दिएको छैन । नेपाल र भारतबीचको ‘विद्यमान सीमा समस्या हल गर्न भारत अझै तयार देखिँदैन । दुई देशबीचको सीमा विवादलाई हल गर्नुपर्नेतर्फ भारतीय रवैया कायमै छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गत चैतको अन्तिमसाता गर्नुभएको भारत भ्रमणका क्रममा सीमा समस्याको विषय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष कुरा उठान गर्नुभएको थियो । तर भारतीय समकक्षी मोदीले सीमा समस्या समाधानको विषयमा कुनै महत्व नदिइ मौनता साँध्नु भएको थियो । यसै कारण पनि प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा नेपाल र भारत दुवै देशको तर्फबाट संयुक्त वक्तव्यसमेत आउन सकेन ।

भारतले सन् २०१९ नोभेम्बरमा आफ्नो भौगोलिक नक्सामा नेपालको कालापानी क्षेत्रलाई समेटेपछि नेपालले त्यसको कडा विरोध जनाएको थियो । नेपालले पनि झण्डै तीन वर्ष अघि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर चुच्चे नक्सा सार्वजनिक ग¥यो । यसपछि नेपाल र भारतबीच केही समय शीतयुद्धको जस्तो अवस्था सिर्जना हुनपुग्यो । भारत नेपालको राजनीतिक तथा प्रशासनिक नयाँ चुच्चे नक्सालाई मान्न तयार देखिएको छैन ।

भारतले कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समेटेपछि नेपाली भूमि लिपुलेकमा चिनिया क्षेत्रमा पर्ने मानसरोवर जाने राजमार्ग नै निर्माण गरेको छ । यस विषयमा पनि नेपाल सरकारले भारतलाई सोधनी गर्दा यसप्रति समेत कुनै चासो देखाएको छैन । जबकी भारतले नेपाली भूमि लिपुलेक भएर चीनको मानसरोवर जाने राजमार्ग दुई वर्षअघि उद्घाटन गरिसकेको छ ।

भारतको मिचाहा र हेपाहा प्रवृत्तिले उसका छिमेकी देशहरु उप्रति सकारात्मक छैनन् । भारतले पटक पटक चीनसँग पनि पटक पटक सीमाविवादमा लफेडा गर्दै आएको छ ।