फाइल तस्वीर


काठमाडौं – सहरी विकासमन्त्री मेटमणि चौधरीले आयोजना सञ्चालन गर्दा जनताले दुःख पाउन नहुने बताउनु भएको छ । मन्त्री चौधरीले आज ललितपुरको सैंबु नख्खुडोलमा जग्गा एकीकरण आयोजनाको नवनिर्मित सामुदायिक भवनको उद्घाटन गर्ने क्रममा यस्तो धारणा व्यक्त गर्नु भएको हो ।

सामुदायिक भवन उद्घाटनका क्रममा मन्त्री चौधरीले समयमै निर्माण कार्य नसकिँदा जनताले विभिन्न किसिमका समस्या भोग्नु परेको हुँदा आयोजनाहरु सञ्चालन गरिंदा जनताको मनोविज्ञान बुझेरमात्र यस्ता आयोजनाहरु सञ्चालन गर्नु पर्नेमा जोड दिनु भयो । ‘कुनैपनि आयोजनाहरु सञ्चालन गर्दा जनताले लाभ लिन सकुन् । जनताले दुःख पाउनु भएन’ – मन्त्री चौधरीको भनाइ थियो ।

मन्त्री चौधरीले आयोजनाको योजना बुन्दा जनतालाई हुने लाभ हेरिनुपर्छ भन्दै आयोजना निर्माण र सम्पन्न गर्दा सबै पक्ष जिम्मेवार भएर लाग्नु पर्ने बताउनु भयो । उक्त कार्यक्रममा मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, महानिर्देशक सुरन्द्रमोहन श्रेष्ठ, काठमाडौं विकास प्राधिकरणका प्रमुख विकास आयुक्त जानुका ढकाललगायत उच्चपदस्थ कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।