फाइल तस्वीर


काठमाडौं – हिन्दुहरुको महान चाड दशैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले भदौको अन्तिम सातादेखि नयाँ नोट उपलब्ध गराउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले दशैं पर्वको लागि मात्रै १० अर्ब रुपैयाँ बराबरको नयाँ नोटको उपलब्ध गराउन लागेको हो ।
सर्वसाधारण नागरिकले नेपाल राष्ट्र बैंकबाट यसै महिनाको अन्तिम साता अर्थात् भदौ २६ गतेदेखि नयाँ नोट लिन सक्नेछन् । बैंकले दशैंलाई लक्षित गर्दै १० अर्ब रुपैयाँ बजारमा पठाउन लागेको जनाएको छ ।

यद्यपि, भदौ २६ गतेदेखि नै बैंक तथा वित्तीय संस्थाहरुलाई सुकिला नोट उपलब्ध गराइने तयारी भएपनि औपचारिक निर्णय भने भइनसकेको राष्ट्र बैंकका मुद्रा व्यवस्था विभागका प्रमुख रेवती नेपालले नवसञ्चार अनलाइनलाई जानकारी दिनुभयो । मुद्रा व्यवस्था विभागका प्रमुख नेपालले बताए अनुसार राष्ट्र बैंकले यसपालि नयाँ नोटको प्रयाप्त व्यवस्था गरिएको छ । प्रमुख नेपालले ‘बजारको माग अनुसार नोटको वितरण हुन्छ’ यसका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ छुट्याइएको छ’ भन्दै रकम अपुग भए थप नयाँ नोटको व्यवस्था गरिने’ बताउनु हुन्छ ।

नेपाल राष्ट्र बैंकले गत वर्ष दशैंमा ८ अर्ब रुपैयाँ बराबरको नयाँ नोट बजारमा पठाएको थियो । गत वर्ष प्रतिव्यक्ति नोट सटहीको अधिकतम १८ हजार ५ सय रुपैयाँको सीमा तोकेको उक्त बैंकले यस वर्ष नयाँ नोट वितरणमा कुनै सीमा नलगाउने जनाएको छ । बैंकले विगतमा जस्तै यसपटक पनि ५, १०, २०, ५० र एक सय रुपैयाँका गरी पाँच वटा नयाँ नोटहरु बजार पठाउने तयारी गरेको छ । नयाँ नोट पाएपछि बैंक तथा वित्तीय संस्थाहरुले आफु अनुकुल सर्वसाधारणलाई वितरण गर्न सक्नेछन् । सर्वसाधारण नागरिकले नेपाल राष्ट्र बैंक थापाथलीबाट र अन्य बाणिज्य बैंकबाट नयाँ नोट लिन पाउने व्यवस्था गरिएको मुद्रा व्यवस्था विभागका प्रमुख नेपालले जानकारी गराउनु भएको छ ।