एजेन्सी – एयर फ्रान्सका दुईजना पाइलटबीच प्लेनको ककपिटभित्र नै कुटाकुट भएको छ । यो घटना जेनेभादेखि फ्रान्ससम्मको उडानको क्रममा भएको भएको हो ।
कम्पनीले घटनामा संलग्न दुई जनालाई निलम्बित समेत गरेको छ । यसका बाबजुद विमानले सामान्य रूपमा आफ्नो गन्तव्यमा पुगेको थियो । विवादले उडानमा भने कुनै समस्या नआएको एयरलाइन्सका एक अधिकारीले जानकारी दिनुभयो । उहाँले आफ्नो एयरलाइन्स यात्रुको सुरक्षाका लागि प्रतिबद्ध रहेको कुरा स्पस्ट पार्नुभयो ।
स्वीस ला ट्रिब्युन डेलीको समाचार अनुसार पाइलट र कोपाइलटबीच विमान उडान भर्ने बित्तिकै विवाद सुरु भएको थियो । यस क्रममा उनीहरूले एकअर्काको सर्टको कलर समात्नेदेखि मुक्का समेत बर्साएका थिए । विवादपछि क्याबिन क्रूको सदस्यले उनीहरूलाई छुट्टाएका थिए । त्यसपछि उडान अवधिभर उनी ककपिटमा नै बसेका थिए । बुधबार फ्रान्सको एयर इन्भेस्टिगेसन एजेन्सी (बीईए) ले रिपोर्ट प्रकाशन गरेपछि यसबारे जानकारी बाहिर आएको हो ।