काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ । आज बजार परिसूचक ३ दशमलव ७६ अङ्कले बढेर १९९३ दशमलव ०२ मा उक्लिएको छ । ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स १ दशमलव ७७ अङ्कले उकालो लागेर ३८७ दशमलव ४६ अङ्कमा उक्लिएको हो ।

बजार बढेपनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा गिरावट देखिएको छ । आइतबार २ अर्ब माथिको कारोबार भएको बजारमा आज १ अर्ब २६ करोड ६६ लाख १९ हजार १ सय ५० रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । ३४ लाख ४० हजार ९ सय कित्ता सेयर २६ हजार ४६ पटकमा खरिद बिक्री भएको छ ।

बजार सामान्य बढेपनि बैंकिङ, माइक्रो फाइनान्स, म्यचुअल फण्ड, तथा लगानी समूहको सेयर मूल्य घटेको छ भने बाँकी समूहको सेयर मूल्य बढेको छ । ३ दशमलव ७६ अङ्कले बढेको बजारमा सोमबार १ सय ११ कम्पनीको सेयर मूल्य बढेको छ भने ७२ कम्पनीको सेयर मूल्य घटेको छ । विन नेपाल लघुवित्त, रिलायन्स फाइनान्स, मैलुङ खोला जलविद्युत कम्पनी, सिभिल लघुवित्त, समता घरेलु लगायतका कम्पनीहरू सोमबार उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।