एजेन्सी – भारत उत्तर प्रदेशको नोएडामा नियम उल्लङ्घन गरी बनाइएको ३२ तले ट्विन टावर ढालिएको छ । नोएडास्थित सेक्टर–९३ मा बनेका दुई वटा गगनचुम्बी टावर ढालिएको हो । १०० मिटरभन्दा अग्लो दुवै टावर ध्वस्त हुन करिब नौ सेकेण्ड मात्र लागेको छ । बिहान ७ बजे आसपासको सोसाइटीमा बसोबास गर्ने करिब ७ हजार मानिसलाई विष्फोट जोनबाट हटाइएको थियो । नेपाली समायानुसार २ः४८ बजे भवन भत्काइएको हो । २ अर्बभन्दा बढीको लागतमा बनेका दुई वटा टावर ढाल्न करिब २० करोड रुपैयाँ खर्च लागेको बताइएको छ । भारतमा पहिलोपल्ट यति अग्लो बिल्डिङ भत्काइएको हो ।
विस्फोट हुँदा भवन भग्नावशेषमा परिणत भएको छ । कुतुबमिनारबाट ट्वीन टावरबाट ठ्याक्कै ९ मिटर टाढा छ । यहाँ ६५० फ्ल्याटमा लगभग २५०० मानिसहरू बस्छन् । यहाँका जनता सबैभन्दा बढी पीडित छन् । ट्विन टावर भत्काउने जिम्मा एडिफिस नामको कम्पनीले पाएको थियो । आयोजना प्रबन्धक मयुर मेहताको निगरानीमा यो काम भइरहेको छ । भवनमा ३ हजार ७ सय केजी बारूद भरिएको थियो । पिलरहरुमा लामो प्वालहरू बनाई बारूदले भरिएको थियो ।

३१ अगस्त २०२१ मा, सर्वोच्च अदालतले नोएडा सेक्टर ९३ ए मा निर्मित ट्विन टावरहलाई गैरकानूनी घोषित गर्दै भत्काउने आदेश दिएको थियो । ट्विन टावर छेउमा रहेको सोसाइटीका आरडब्लुएले ती टावरहरु अवैध रुपमा निर्माण भएको भन्दै अदालतमा उजुरी दिएका थिए ।

सुपरटेक ट्विन टावर ढाल्न महिनौंदेखि तयारी गरिएको थियो । यो काम एडिफिस इञ्जिनियरिङ नामको कम्पनीले गरेको हो । दुवै टावर ढाल्न ३७ सय किलो बारुद प्रयोग गरिएको थियो । यी दुवै टावरमा बारुद लगाउन ९ हजार ६ सय ४२ प्वाल पारिएका थियो । करिब ७ सेकेण्डमा बारुद सल्किएको थियो भने बारुदमा आगो लागेको ५ सकेण्डमै दुवै टावर एकसाथ ध्वस्त भएका थिए ।