काठमाडौं – पहिलो डिजिटल बीमा सेवा प्रदायक इ–बीमा र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । इ–बीमाको यो नै पहिलो व्यावसायिक सम्झौता हो । सम्झौताअनुसार इ–बीमाको प्लेटफर्ममार्फत अनलाइनबाट नै इ–बीमा खरिद गर्न सकिने छ । सम्झौता पत्रमा इ–बीमाको तर्फबाट प्रबन्ध निर्देशक रोशन ज्ञवाली र एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले हस्ताक्षर गर्नुभएको हो ।

हस्ताक्षरित सम्झौताआदान–प्रदान गर्दै निर्देशक ज्ञवालीले एनएलजी इन्स्योरेन्ससँगको पछिल्लो सहकार्यले नेपाली बीमा बजारमा डिजिटल प्लेटफर्मको महत्वलाई उजागर गरेको बताउँदै जनतामा बीमा नीति डिजिटलीकरणको आवश्यकता बढ्दै गएको उल्लेख गर्नुभयो । निर्देशक ज्ञवालीले भन्नुभयो, ‘इ–बीमासँग यो सम्झौतामा हस्ताक्षर गरेर हामी यो माग पूरा गर्न र भविष्यमा धेरै आवश्यक कदम चाल्न पूर्ण प्रतिबद्ध छौँ ।‘

एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले जनतामा बीमा नीतिहरूका लागि डिजिटलाइजेसनको आवश्यकता बताउँदै इ–बीमासँग गरिएको यो सम्झौतापछि बजारको त्यस्तो आवश्यकता पूरा हुने विश्वास व्यक्त गर्नुभयो । इ–बीमाले नेपालमा भएका सबै बीमासम्बन्धी सेवाहरूको लागि एक–स्टप समाधान हुने र देशका सबै बीमा प्रदायकहरूलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने आशा राख्दछ । इ–बीमा सन् २०१५ देखि विभिन्न बीमा उत्पादन र सेवाहरूलाई डिजिटलाइज गर्न सक्रिय छ ।