काभ्रे – प्रहरीले संरक्षित वन्यजन्तु सालकको आखेटोपहार (खपटा)सहित तीन जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) काठामाडौं र काभ्रेपलाञ्चोकस्थित इलाका प्रहरी कार्यालय बनेपाको संयुक्त टोलीले अवैध रूपमा ओसारपसार भइरहेको खपटासहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ का ४९ वर्षीय गोविन्द सेन्चुरी तथा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ का २६ वर्षीय सुरज झेडीमगर र महाभारत गाउँपालिका–७ का २५ वर्षीय विमान स्याङ्तान रहेको प्रहरीले जनाएको छ ।

तीनै जनालाई बनेपा नगरपालिका–६ को २८ किलोस्थित स्वागत क्याफेमा खपटा खरिद बिक्री गरिरहेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ गरिएकामाथि हिरासतमा राखी थप अनुसन्धान भइरहेको र उनीहरूलाई म्याद थप गरी आज जिल्ला वन कार्यालय बुझाइने इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।