एजेन्सी – रुसले युक्रेनको एक रेलवे स्टेशनमा आक्रमण गर्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ । आक्रमणमा अन्य दर्जनौँ मानिस घाइते भएका छन् । रुसले युक्रनमाथि आक्रमण थालेको ६ महिनामा रकेट हमला गरी कम्तीमा २२ जनाको हत्या गरेको हो ।

विस्फोटपछि चारवटा कारमा आगो लागेको थियो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हमलाबारे संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा जानकारी दिएका हुन् । उनका अनुसार यो हमलामा ५० जना घाइते भएका छन् । रुसले भने यो हमलाबारे कुनै प्रतिक्रिया दिएको छैन । यद्पि रुसले सर्वसाधारण मानिस रहेका कुनै पनि स्थानमा हमला गर्ने मनसाय नरहेको बताउँदै आएको छ ।

जेलेन्स्कीले आफू सुरक्षा परिषद्मा बोल्ने तयारी गरिरहेको बेला निप्रोपेट्रोभ्स्क क्षेत्रको च्याप्लिनमा भएको प्रहारबारे थाहा पाएको बताए । युक्रेनले बुधवार आफ्नो स्वतन्त्रता दिवस मनाएको छ । राष्ट्रपति जेलेन्स्कीले यसअघि नै उक्त अवसरको उत्सवमा रुसले क्रूर कार्य गर्न सक्ने बताएका थिए ।