काठमाडौं – साताको चौथो कारोबार दिन आज बुधबार सेयर बजारमा एकल अङ्कको सामान्य सुधार भएको छ । सेयर बजार परिसूचक नेप्से २ दशमलव ८७ अङ्क (० दशमलव१४ प्रतिशत) ले वृद्धि भएर २०५७ दशमलव ८५ अङ्कमा बन्द भएको छ ।

नेप्सेमा सामान्य सुधार भएपनि कारोबार रकममा भने खासै उत्साह देखिको छैन । आइतबार २ अर्ब माथिको कारोबार भएको बजारमा सोमबार करिब १ अर्ब ७३ करोड मात्रै कारोबार भयो । यसैगरी मङ्गलबार १ अर्ब ३३ करोडको कारोबार भएको थियो भने बुधबार कारोबार रकम डेढ अर्ब नाघेपनि औसतभन्दा तलै रह्यो । नेप्सेमा बुधबार ३६ लाख ७८ हजार ७०५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५२ करोड ६१ लाख ८६ हजारको कारोबार भएको छ । जसमध्ये अरुण कावेली पावरको १६ करोड ९२ लाख ६६ हजारको कारोबार हुँदा अपी पावरको ८ करोड ८ लाख २५ हजार रिडी हाइड्रोपावरको ५ करोड ६४ लाख ६८ हजारको कारोबार भएको छ ।

अघिल्लो दिन मङ्गलबार कारोबार भएका मध्ये मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत र अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयर मूल्य ९दशमलव ९९ प्रतिशतले बढेर सर्किट लेभलमा बन्द भएको छ । यस्तै रुरु जलविद्युत् कम्पनीको सेयरमूल्य ५ दशमलव ८६ प्रतिशले बढेको छ ।

यता सिद्धार्थ इक्विटी फण्डको इकाइ मूल्य ३ दशमलव ५८ प्रतिशतले गिरावट भएको छ । यस्तै गोर्खाज फाइनान्सको सेयर मूल्य २ दशमलव ३६ प्रतिशत र एनएलजी इन्स्योरेन्सको सेयर मूल्य २ दशमलव ३१ प्रतिशतले घटेकोे छ ।