काठमाडौं – अमेरिकी डलर देखाएर श्रृङ्खलावद्ध रुपमा ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका समिर भन्ने सञ्जय तामाङ र विष्णु तामाङ रहेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका अनुसार उनीहरुले बौद्ध, टोखा, साँखु, कपन लगायतका क्षेत्रमा सस्तो दरमा अमेरिकी डलर साट्ने प्रलोभनमा ठगी गर्ने गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरुको साथबाट ठगी गर्न प्रयोग भएको नेपाली ५, १० र २० दरका नोट र केही अमेरिकी डलर तथा नेपाली र अमेरिकी डलर गरी उनीहरुको साथबाट १५ लाख रुपैयाँ बरामद भएको छ ।

उनीहरुले पीडित व्यक्तिलाई पटकपटक फोनमार्फत सम्पर्क गरेर आफूहरुसँग अमेरिकी डलर रहेको र सस्तोमा साटिदिने प्रलोभन दिने गरेका थिए । उनीहरुले १ र ५० डलर दरका अमेरिकी मुद्रा देखाएर विश्वासमा पारेर सटही गर्ने प्रलोभनमा उपत्यकाका साँघुरा गल्ली, पातलो मानववस्ती र जंगल आसपासका स्थानमा बोलाएर डलर भनेर रुमाल पोको पारेर ५, १० र २० दरका नेपाली नोटको बिटो दिने गरेर फरार हुने गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

त्यस्ता व्यक्तिहरुमाथि निगरानी गर्ने क्रममा आशङ्कित व्यक्तिको स्केच तयार गरेर अनुसन्धान थालिएको र त्यसकै आधारमा दुईजना पक्राउ परेका छन् भने थप एकजनालाई पनि घटनामा संलग्नको स्केट तयार गरेर खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीहरु उपत्यका र बाहिर गरी यस्तै शैलीका ५ वटा घटनामा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।