फाइल तस्वीर

तनहुँ – नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं सांसद कृष्णकुमार श्रेष्ठले गठबन्धन दलबीचको सहमतिमै तनहुँ क्षेत्र नं १ मा उम्मेदवार तय हुने बताउनुभएको छ ।

आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा सांसद श्रेष्ठले तनहुँ क्षेत्र नं १ मा उम्मेदवारीका विषय धेरै चर्चा भएकाले सहमतिमै गठबन्धनबाट उम्मेदवार तय गरिने बताउनुभएको हो । उहाँले भन्नुभयो ‘राजनीतिक दलबीच पहिला भएको सहमति अनुसार ज–जसले जहाँबाट जितेको छ त्यहीँबाट उम्मेदवारी दिने भनिएकाले तनहुँ–१ मा मेरो दाबी स्वभाविक हो ।’

आफू पार्टीको इमानदार सिपाही भएकाले पार्टीले भनेको मान्नुपर्ने बताउँदै उहाँले भन्नुभयो ‘पार्टीले कञ्चनपुर, बारा, झापा गएर निर्वाचन लड्न भने पनि तयार नै छु ।’ उहाँले गठबन्धनलाई थप बलियो बनाएर लैजानुपर्ने अहिलेको आवश्यकता रहेको औंल्याउँदै भन्नुभयो, ‘धेरै त्याग तपस्या गरेर गठबन्धन बनायौँ, यसलाई निरन्तर अगाडि लैजानुछ ।’