काठमाडौं – साताको दास्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोस्रो कारोबारमा पनि गिरावट आएको छ । आइतबार ७ दशमलव ७२ अङ्कले घटेको बजार आज सोमबार पनि ७ दशमलव ३८ अङ्क घटेको हो ।

सोमबार तीव्र उतारचढाव रहेको बजार अन्त्यमा नकारात्मक रहन पुग्यो। बजार ७ अङ्कले घट्दा ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स १ दशमलव ४७ अङ्क घटेर ३९७ दशमलव ११ मा झरेको छ । बजार ७ अङ्कले घट्दा आज कारोबार रकममा पनि कमी आएको छ । आइतबार २ अर्ब ४ करोड बढी कारोबार भएको बजारमा सोमबार १ अर्ब ७२ करोड ६२ लाख ८७ हजार ४ सय ३० रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो ।

यस्तै ५२ लाख ३० हजार ७ सय ६३ कित्ता सेयर ३१ हजार ७ सय ९५ पटकमा खरिद बिक्री भएको थियो। बजार घट्दा आज उप समूहतर्फ म्युचुअल फण्ड बाहेक बाँकी समूहको सेयर मूल्य घटेको छ । बजार घट्दा सोमबार कारोबार भएका जम्मा ४७ कम्पनीको सेयर मूल्य बढेको छ भने १२४ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै अपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ ।