काठमाडौं – नेपाल राष्ट्र बैंकले १२ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले भदौ ७ गते २८ दिने, ९१ दिने, १ सय ८२ दिने र ३ सय ६४ दिने गरी कूल १२ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको हो ।

पर्सी मङ्गलबार बिक्री हुने ट्रेजरी बिलको भोलि सोमबार दिउँसो ३ बजे बोलकबोल हुने बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्था बिल खरिदका लागि आवेदन दिन सक्नेछन् । बैंकका अनुसार २८ दिनका लागि २ अर्ब रुपैयाँ छुट्याइएको छ भने ९१ दिनका लागि १ अर्ब २३ करोड ३२ लाख रुपैयाँ, १ सय ८२ दिनका लागि ६ अर्ब रुपैयाँ र ३ सय ६४ दिनका लागि २ अर्ब रुपैयाँ छुट्याइएको छ ।

यसअघि साउन ३० गते बैंकले तीन किसिममा कूल १३ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो । तर, बजारमा बढ्दो ब्याजदरलाई नियन्त्रणमा राख्न भन्दै राष्ट्र बैंकले केही ट्रेजरीको नवीकरण गरेर बाँकी आफैले खरिद गरेको थियो ।