फाइल तस्वीर

बुटवल – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफूू अन्तिमपटकका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार बन्ने बताउनुभएको छ । उहाँले आसन्न निर्वाचनमा इलाम क्षेत्र नम्बर–१ बाटै प्रतिस्पर्धा गर्ने बताउनुभयो । आइतबार बिहान भैरहवास्थित गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेता खनालले गठबन्धनमार्फत आउँदो मंसिर ४ गते हुने निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताउनुभएको हो ।

‘चुनाव नलड्ने चर्चा छ नि ?’ भन्ने पत्रकारको जिज्ञासामा उहाँले भन्नुभयो, “जनतासँगको माया–पिरती टुटेको छैन । ४८ सालदेखि चुनाव लड्दै आएको छुु, अब एकपटक लड्छुु ।” नेता खनालले आफूू इलाम–१ बाट विजयी हुने विश्वास समेत व्यक्त गर्दै पाँचदलीय गठबन्धनबाटै निर्वाचनमा होमिने बताउनुभयो । “गठबन्धन दृढतापूर्वक अगाडि बढ्छ,” उहाँले भन्नुभयो, “एकतामै बल हुन्छ । एक्लो ढेडुको असफलता अनिवार्य छ ।” नेता खनालले नेकपा (एमाले)सँग तत्काल तालमेल र एकताको सम्भावना नरहेको प्रस्ट पार्नुभयो ।

उहाँले अहिले आफूूहरू नेकपा (माओवादी केन्द्र)सँग निकट रहेको पनि उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “मुलुकका लागि बृहत् वामपन्थी एकताको आवश्यकता थियो, त्यो भएन । तर, समाजवादी रूपान्तरणको सिलसिलामा एकताबद्ध हुनैपर्छ ।” पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेता खनालले वामदेव गौतमले माओवादीको चुनाव चिह्न हँसिया हतौडा लिएर प्रतिस्पर्धा गर्ने कुरा सामान्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “वामदेवजी हामीसँगै हुनुहुन्छ, चुनाव चिह्न कुनै सिद्धान्त होइन । हामीसँगै छौँ ।”