एजेन्सी – पूर्वी अफ्रिकी देश सोमालियको राजधानी मोगादिसुस्थित हयात होटलमा आतङ्वादी समूह अल–शबाबले गरेको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ । बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा १० जना मारिएका तथा कैयौँ घाइते भएका छन् ।

घटनास्थलबाट बालबालिकासहितका अन्य धेरैलाई उद्धार गरिएको प्रहरी तथा प्रत्यक्षदर्शीहरूले बताएका छन् । यद्यपि घटनाको विस्तृत विवरण आइसकेको छैन । हतियार बोकेका अल–शबाबका आक्रमणकारीहरूले होटल भवनमा प्रवेश गर्नुअघि बाहिर विष्फोटसँगै आक्रमण सुरु गरेका थिए ।

होटलमा लुकेका आक्रमणकारीहरूलाई सुरक्षा फौजले नियन्त्रणमा लिने प्रयास गरेका भए पनि कति जना आक्रमणकारी त्यहाँ छन् भन्ने स्पष्ट भएको छैन । इस्लामिक चरमपन्थी समूह अल–शबाबले आक्रमणको जिम्मेवारी लिएको छ । होटलको स्वागतकक्ष बाहिर भुइँमा आफूले धेरै शव देखेको उद्धार गरिएका एक जनाले बताएका छन् । आक्रमणमा मारिएकाहरूको परिचय पनि खुलाइएको छैन ।