एजेन्सी – उत्तर कोरियाले बुधबार दुईवटा क्रुज मिसाइल प्रहार गरेको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको छ । ‘आज बिहान उत्तर कोरियाले ओन्चोन क्षेत्रबाट पश्चिम सागरमा दुईवटा क्रुज मिसाइलहरू प्रहार गरेको छ’ मन्त्रालयका एक अधिकारीको भनाइ उद्धृत गर्दै एएफपीले जनाएको छ ।

अमेरिका र दक्षिण कोरियाका सैन्य अधिकारीहरूले उत्तरको मिसाइल प्रहारबारे विस्तृत विवरणहरूको विश्लेषण गरिरहेका पनि जनाएका छन् । दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीका अनुसार उत्तर कोरियाले जनवरीदेखि क्रुज मिसाइल परीक्षण गरेको थिएन । पछिल्लो पटक उत्तर कोरियाले जुलाई १० मा हतियार परीक्षण गरेको थियो ।

उत्तर कोरियाले पछिल्ला केही महिनायता अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलसहित प्रतिबन्धित हतियार परीक्षणलाई तीव्रता दिएको जनाइएको छ । विश्वबाटै एक्लिएको उत्तर कोरियाले आफ्नो सातौं आणविक परीक्षणबारे योजना बनाइरहेको विश्वास गरिन्छ । यस हप्ताको सुरुमा दक्षिण कोरियाली र अमेरिकी सेनाले वार्षिक संयुक्त सैन्य अभ्यासअघि नै प्रारम्भिक अभ्यास सुरु गरेका थिए । एएफपी