काठमाडौं –साताको तेस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पुन: ओरालो लागेको छ । नेप्सेपरिसूचक २४ दशमलव ८३ घटेको हो । केही सातादेखि ओरालो लागेको बजार परिसूचक सोमबार अचानक ५६ अङ्क बढेको थियो । आज बजार परिसूचक २४ दशमलव ८३ अङ्क घटेको छ । ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ३ दशमलव ७५ अङ्क घटेर ३९४ दशमलव ३९ मा ओर्लिएको छ । २५ अङ्कले बजार घटेपछि समग्र बजार परिसूचक २०४१ दशमलव ०६ अङ्कमा झरेको छ ।

बजार घटेपनि आज मङ्गलबार बजारलाई कारोबारले भने साथ दिएको छ । सोमबार २ अर्ब ४३ करोडको कारोबार भएको सेयर बजारमा मङ्गलबार २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५८ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । ६४ लाख ६ हजार ७ सय ३८ कित्ता सेयर ४३ हजार ३ सय ९२ पटकमा खरिद बिक्री भएको थियो ।

बजार २५ अङ्कले घट्दा आज उप–समूहतर्फ १३ ओटै समूहको सेयर मूल्य घटेको छ । बजार घट्दा कारोबार भएका मध्ये जम्मा १२ कम्पनीको सेयर मूल्य बढेको छ भने १६९ कम्पनीको सेयर मूल्य घटेको छ ।