पत्रपत्रिकाबाट

काठमाडौं – काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले सोमबार पनि सोचेअनुसार बन्चरेडाँडामा फोहोर पुर्‍याउन नसकिएको र सत्तारूढ दलका नेताकै कारण ‘समस्या उत्पन्न भएको’ औंल्याएका छन्। महानगरपालिकाले सोमबार २ सयभन्दा बढी ट्रकबाट फोहोर फाल्ने योजना बनाएको थियो। तर, सत्तारूढ दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका स्थानीय नेताले ‘असहयोग गरेकाले फोहोर फाल्ने काम सहज नभएको’ जनाइएको छ ।

सत्तारूढ दलबाटै असहयोग भएपछि प्रमुख साहले आक्रोश व्यक्त गर्दै ‘राज्य संयन्त्र निरीह बनेको’ आरोप लगाएका छन्। सोमबार फेसबकुमा स्टाटस लेख्दै साहले ‘फोहोर व्यवस्थनमा सिंगो राज्य संरचना निरीह बनेको’ टिप्पणी गरेका हुन्। बन्चरेडाँडमा ५ अर्बभन्दा बढी लगानी गरिसकेको र दुई दशकदेखि योजना बनाएको अवस्थामा समेत फोहोर लैजान ‘माथापच्ची’ गर्नुपरेकोमा उनले असन्तुष्टि र आक्रोश पोखेका छन्। ‘२ सयभन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ ? पूरै राज्य संरचना यस्तो निरीह किन बन्छ ?’ शाहले प्रश्न गरेका छन् ।

केही समूहबाट लुक्दै गुलेली हानेर अवरोध खडा गर्ने प्रयास गरिएको बताउँदै साहले सोमबार २ सय ३ वटा मात्र फोहोरका गाडी बन्चरेडाँडा लैजान सकिएको अवगत गराएका छन्। उनले राज्य संयन्त्रमाथि गम्भीर प्रश्नसमेत तेस्र्याएका छन्। ‘केही दिनबाट देखिरहेको समस्या सतही मात्रै भएको’ बताउँदै उनले ‘यसको गहिरो र अलग्गै कारण रहेको’ औंल्याएका छन्। साहले ‘बन्चरेडाँडामा राज्यले ५ अर्बभन्दा बढी लगानी गरिसकेको, झन्डै दुई दशकदेखि योजना बनाए पनि अहिले आएर फोहोर लैजान यतिका माथापच्ची किन ?’ भन्दै गम्भीर प्रश्न गरेका छन् ।

‘यहाँ केही कमजोरी, केही गल्ती भएकै छन्। सिसडोलमा गरिएको लापर्बाही र त्यो क्षेत्रको दुरवस्थाले गर्दा स्थानीयले जोसुकैलाई विश्वास गर्न नसक्नु अस्वाभाविक पनि होइन,’ शाहले सबै भनेका छन्, ‘हामी विश्वस्त पार्न चाहन्छौं कि विगत दोहोर्‍याएर अपराध गर्ने छैनौं। यसका लागि केही समय भने पक्कै लाग्छ। सिसडोलको वैज्ञानिक व्यवस्थापन र बन्चरेको दिगो उपयोगिताका लागि महानगर संवेदनशील छ ।’

साहले सिसडोलका स्थानीय बासिन्दासँग आफूले गरेका सहमति इमानदारितापूर्वक पालना गर्ने प्रतिबद्धतासमेत जनाएका छन्। ‘व्यवस्थापन हाम्रो स्वार्थको गर्नुपर्ने होइन, फोहोरको हो। आफ्ना कुत्सित स्वार्थ व्यवस्थापन महानगरले गरिदेला भन्ने सोच्नुभएको छ भने त्यो भ्रम हो। त्यसो भन्दैमा कसैलाई हराउने खेलमा महानगर छैन। सबैले जित्ने कार्यक्रम लागू गर्ने योजनामा महानगर छ,’ उनले भनेका छन् । (राजधानी दैनिकबाट)