साङ्केतिक तस्वीर
काठमाडौं – सुर्खेत, सिरहा, दाङ र पर्साबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानबाट ४७ ग्राम ६ सय २० मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३७ वर्षीय किरण गिरी र उनकी श्रीमती २६ वर्षीया सरला शाही थापा रहेका छन् । उनीहरूलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।
सिरहाको औरही गाउँपालिका–१ हनुमानचोकबाट ३० ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेटसहित गोलबजार नगरपालिका–५ बस्ने २५ वर्षीय सुरेन्द्र कुमार महरालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको ‘अनटेस्ट’ मोटरसाइकलमा सवार सुरेन्द्रलाई प्रहरी चौकी हर्कटीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१६ दक्षिण कुरुरिया बस्ने ५० वर्षीया पार्वती खत्रीलाई ५ किलोग्राम गाँजासहित आइतबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मलवार र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनको घर खानतलासी गर्दा बोराभित्र लुकाई राखेको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
पर्साको वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट १२० ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–१० बस्ने २५ वर्षीय आशिस शाही छन् । उनलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विर्ता पर्सा र लागूऔषध नियन्त्रण ब्युरो वीरगन्जबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा आशिसको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । रासस