फाइल तस्वीर


इस्लामावाद – मनसुनी वर्षासँगै आएको बाढीपहिरोमा परी पाकिस्तानमा कम्तीमा १० जनाको ज्यान गएको छ । राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रका अनुसार पछिल्लो २४ घण्टायता पाकिस्तानका विभिन्न स्थानमा भएको निरन्तरको वर्षा र बाढीमा परेर थप २६ जना घाइते भएका छन् ।

सो केन्द्रका अधिकारीले दिएको जानकारीअनुसार पाकिस्तानको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । सो प्रान्तका अधिकांश स्थानमा बाढी आएको र त्यसमा परेर छ जनाको ज्यान गएको छ ।

त्यसैगरी यहाँको उत्तरपश्चिमी प्रान्त खैबर पाक्थुन्क्वामा पनि बाढीका कारण तीन जनाको ज्यान गएको बताइएको छ । त्यहाँका कतिपय व्यक्ति हराइरहेका पनि बताइएको छ । यहाँ यस वर्षको मनसुनी वर्षा सुरु भएको जुनदेखि अहिलेसम्ममा अति वर्षा र बाढीमा परेर पाँच सय ९२ जनाको मृत्यु भएको बताइएको छ । त्यसैगरी यस वर्षाका कारण यहाँका करिब एक हजार जना घाइते भएका छन् भने बाढीले हजारौँ घरमा क्षति पुगेको छ ।