साङ्केतिक तस्वीर


रुकुम पूर्व – रुकुम (पूर्व)मा नेपाल प्रहरीको गाडी पल्टिँदा सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षकसहित पाँचजना घाइते भएका छन् । सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगङ्गा गाउँपालिकाको तकसेरा जाने क्रममा गाडी पुथा उत्तरगङ्गा गाउँपालिका–११ तल्लो सेरामा दुर्घटनामा परेको हो ।

गाउँपालिकाका प्रवक्ता एवम् वडा नं–५ का नं वडाध्यक्ष टिकासाई घर्तीका अनुसार गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको छ । गाडीमा चालकसहित नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रविन्द्र श्रेष्ठ र अन्य गरी ६ जना सवार थिए ।

सशस्त्रका डीएसपी श्रेष्ठसहित अन्य पाँचजना घाइते भएका छन् । घाइतेको उद्धारका लागि हेलिकप्टर मगाइएको छ । प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कृष्ण खत्रीले जानकारी दिनुभयो । रासस