टी–२० सिरिजअन्तर्गत अफगानिस्तानविरुद्ध दोस्रो खेलमा पनि घरेलु टोली आयरल्यान्ड विजयी भएको छ । ५ विकेटले विजयी आयरल्यान्डको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा आयरल्यान्ड ७ विकेटले विजयी भएको थियो ।

दोस्रो खेलमा अफगानिस्तानले दिएको १२३ रनको लक्ष्य आयरल्यान्डले १९ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो। आयरल्यान्डका लागि कप्तान एन्ड्रयु बलबर्नीले सर्वाधिक ४६, लोर्कन टकरले २७ र जर्ज डकरेलले अविजित २५ रनको योगदान गरे ।

यसैगरी अफगानिस्तानका लागि कप्तान मोहम्मद नाबीले २, मुजिउर रहमान, नवीन–उल–हक र फजलहक फारुकीले एक/एक विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२२ रन बनाएको थियो ।

बेलफास्टस्थित सिभिल सर्भिस क्रिकेट क्लबमा भएको खेलमा पाहुना टोलीका लागि हसमतुल्लाह शहिदीले सर्वाधिक ३६, इब्राहिम जाद्रनले १७, अजमतुल्लाह ओमरजाईले ११ र नवीन–उल–हकले अविजित १० रनको योगदान गरे ।