काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबारमा पछिल्लो समय निरन्तर रुपमा गिरावट आएको छ । साताको दोस्रो कारोबारदेखि घट्न थालेको बजार परिसूचक आज १९ दशमलव ०६ अङ्कले घटेको हो । आज बिहीबारको कारोबारमा नेप्से शून्य दशमलव ९३ प्रतिशतले घटेर समग्र बजार परिसूचक २०३७ दशमलव ८३ अङ्कमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ४ दशमलव ०९ अङ्कले घटेर ३९१ दशमलव ६६ मा ओर्लिएको छ ।

बजार घट्दै जाँदा कारोबार रकम पनि घट्दै गएको देखिन्छ । साताको सुरुवातमा ४ अर्ब भन्दा माथि रहेको कारोबार रकम बिहीबारसम्म आइपुग्दा १ अर्ब ७६ करोडमा खुम्चिएको छ । बिहीबार १ अर्ब ७६ करोड १० लाख २३ हजार ३९ रुपैंयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । ६२ लाख ९८ हजार ६ सय ३८ कित्ता सेयर ३६ हजार २ सय ६४ पटकमा खरिद बिक्री भएको थियो ।

बजार घट्दा बिहीबारको कारोबारमा ३२ कम्पनीको सेयर मूल्य बढेको छ भने १५० कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै उप–समूहतर्फ बिहीबार म्यचुअल फण्ड बाहेक बाँकी १२ कम्पनीको सेयर मूल्य घटेको छ । नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूह बाहेकका १२ वटा उपसमूको परिसूचकमा गिरावट आएको छ । म्युचुअल फण्ड उपसमूहको परिसूचक ० दशमलव ४६ प्रतिशत बढेको छ ।

त्यस्तै, वित्त उपसमूहको परिसूचक २ दशमलव ३८ प्रतिशतले घटेको छ। विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ । नेप्से ओरालो लागे पनि बिहीबार दुई कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा हिमालयन हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

यता युनिलिभर नेपालको शेयरमूल्य ८ दशमलव २३ प्रतिशत घटेको छ । त्यस्तै, बुद्धभूमि हाइड्रोपावर र हिमालयन एभरेष्ट इन्स्योरेन्सको पनि शेयर मूल्यमा गिरावट आएको छ । शिवम सिमेन्ट्को विहीवार ७ करोड २७ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेको छ ।