एजेन्सी – दक्षिण कोरियामा अत्यधिक वर्षाका कारण नौ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले वर्षा पछिका घटनामा परी अरु सात जना बेपत्ता भएको जानकारी दिएका छन् । देशको राजधानी सोल र आसपासका क्षेत्रमा नै यस्ता घटना भएका हुन् ।

बुधबारसम्ममा ५०० मिलिमिटर वर्षा भएको मौसम विभागका अधिकारीहरूले जानकारी दिएका छन् । मृत्यु भएका मध्ये एक जना चिनियाँ नागरिक रहेको दक्षिण कोरियास्थित चिनियाँ दूतावासले जनाएको छ । स्थानीय समय अनुसार मङ्गलबार दिउसो ४:२३ मा ग्येयोङ्गी प्रान्तमा ती व्यक्तिको पहिरोमा परी मृत्यु भएको हो ।

वर्षापछिका घटनाका कारण सोल र ग्येयोङ्गीका क्षतिग्रस्त ३ सय ९८ घरका ५ सय ७० जना विस्थापित भएका छन् । उनीहरूलाई विभिन्न आश्रय स्थलहरूमा लगेर राखिएको छ । अहिले दक्षिण कोरियामा देशभरी गरेर कुल १ हजार २ सय ५३ जना वर्षाका कारण विस्थापित भएका छन् । उनीहरू ७ सय २४ घरका हुन् ।

वर्षाका कारण २ हजार ६ सय घर क्षतिग्रस्त भएका छन् भने धेरै सवारीसाधन डुवानमा परेका छन् । वर्षाले सडक, विद्युत, सञ्चारलगायतका सेवाहरूलाई पनि प्रभावित पारेको अधिकारीहरूले जनाएका छन् । कतिपय ठाउँमा ती सेवा अवरुद्ध भएका छन् । सेवा सूचारु गर्नका लागि प्रयास भइरहेको अधिकारीहरूको भनाइ छ ।