काठमाडौं – साताको चौथो कारोबारको दिन आज बुधबार पनि शेयर बजार ओरालो लागेको छ । अघिल्लो दिन ४५ अङ्कको गिरावट आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ५ दशमलव ११ अङ्कले घटेर २०५७ दशमलव ६८ को विन्दुमा झरेको छ ।

नेप्से घटेसँगै आज कारोबार समेत घट्न पुगेको छ । चालु आर्थिक वर्षको सुरुवाती दिनमा शेयरबजार चम्किएर पनि पछिल्ला केही दिनमा कारोबार समेत घट्न थालेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । पछिल्लो समय दैनिक औषतमा २ अर्बभन्दा बढीको शेयर कारोबार भइरहेको बजारमा यस दिन २१८ स्टकको ३६ हजार १३४ पटकको कारोबारमा १ अर्ब ९३ करोड ५५ लाख रुपैयाँ बराबरको ४६ लाख ४० हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

नेप्से ओरालो लागेपनि यस दिन हिमालयन हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । हालै मात्र सूचीकृत भइ कारोबारमा आएका कारण कम्पनीको शेयरमूल्य बढेको हो । सो कम्पनीको शेयरमूल्य यस दिन २७ रुपैयाँ ५० पैसा बढेर ३०३ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ । त्यसैगरी, यस दिन युनिलिभर नेपालको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ । मर्जर पश्चात कारोबारमा आएको हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर भने यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन सो इन्स्योरेन्सको शेयरमूल्य ५० रुपैयाँ ९८ पैसा घटेर ४५९ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको हो ।

कारोबार रकमका आधारमा यस दिन नागरिक लगानी कोष शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन १० करोड ६८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्स, हिमालयन डिष्टिलरी र नबिल बैंकको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । १३ उपसमूहमध्ये यस दिन लगानी उपसमूहको परिसूचक ० दशमलव ६९ प्रतिशत र उत्पादन तथा प्रशोधनको ० दशमलव ५० प्रतिशत बढेको छ । बाँकी ११ उपसमूहको परिसूचक यस दिन घटेको छ । जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक १ दशमलव ४९ प्रतिशत घटेको छ ।