फाइल तस्वीर


किभ – युक्रेनमाथि आक्रमण बढाउँदै लगेको रुससँग लड्न अमेरिकाले युक्रेनलाई लामो दुरीसम्म मार हान्न सक्ने एन्टी रडार क्षेप्यास्त्र उपलब्ध गराएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता काह्लले युक्रेनलाई अत्याधुनिक हतियार एजीएम– ८८ हाई–भेलोसिटी एन्टी रडार क्षेप्यास्त्र उपलब्ध गराएको बताएका छन् ।

पेन्टागनका प्रवक्ता काह्लले युक्रेनलाई कति वटा यस्ता क्षेप्यास्त्र उपलब्ध गराइयो भन्नेबारेमा केही उल्लेख गरेका छैनन् । युक्रेनलाई थप हातहतियार उपलब्ध गराउने प्याकेज अनुरूप नै ती क्षेप्यास्त्र किभ पठाइएको प्रवक्ता काह्लले बताएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेकाछन् । तर, युक्रेनले भने अमेरिकाले क्षेप्यास्त्रहरू दिए नदिएको कुनै औपचारिक घोषणा गरेको छैन ।

एकसाता अघिमात्रै वेवमा कुनै क्षेप्यास्त्रका भागहरू जस्तो देखिने थुप्रै तस्वीरहरु देखिएको र ती भागहरू युक्रेनमा रुसी अधिनस्थ भूभागमा प्रहार गरिएको हार्म क्षेप्यास्त्रका अवशेष भएको रुसको दाबी थियो ।

अमेरिकाले युक्रेनलाई दिएको भनिएको एजीएम–८८ हार्म अत्यन्तै अत्याधुनिक र तीव्र गतिको एन्टी–रडार क्षेप्यास्त्र मानिन्छ । यो एन्टी–रडार क्षेप्यास्त्रको मार हान्ने अधिकतम दूरी क्षमता १ सय ५० किलोमिटरसम्म रहेको समाचारमा उल्लेख गरिएको छ । एन्टी–रडार क्षेप्यास्त्रले अत्यन्तै उच्च तरङ्गका रडारलाई समेत ध्वस्त पार्न सक्ने सक्षम भएको र यो रडारले कुनै सङ्केत नभएको स्थानमा पनि अचुक मार हान्न सक्ने सक्षम भएको उल्लेख गरिएको छ ।

अमेरिकाले दिएको भनिएको यो क्षेप्यास्त्र युक्रेनले प्राप्त गरेपछि रुसी वायु प्रतिरक्षा प्रणालीलाई प्रतिकुल हुने भन्दै युद्ध मोर्चाबाट रुसलाई टाढासम्म धपाउन सफल हुने विश्वास गरिएको छ । यो क्षेप्यास्त्रका कारण युक्रेनले आफ्नो वायु शक्तिलाई रुसी भूभाग नजिकसम्म सहजरुपमा प्रयोग गर्न सक्ने सैनिक विशेषज्ञहरुको दावी छ ।

रुसी आक्रमणबाट क्षतविक्षतको अवस्थामा पुगेको युक्रेनलाई अत्याधुनिक हातहतियार दिएर अमेरिकाले रुसविरुद्ध लड्न उक्साइ रहेको पनि छ । रुसले पनि आफ्नो सैन्य दस्ता मजबुद बनाउँदै लगेको छ । यसैबीच चीनले पनि रुसलाई अत्याधुनिक हतियार उपलब्ध गराउन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यता, ताइवानको विषयमा पनि चीन र अमेरिकाबीच सम्बन्ध झन विग्रदै गएको छ । ताइवानलाई चीन विरुद्ध लड्न उक्साइ रहेको छ । चीनले ताइवानी क्षेत्र वरपर आफ्नो सैन्य शक्ति उपस्थित गराएको छ भने ताइवानले पनि चीनलाई चुनौती दिंदै हिजो मङ्गबार र भोलि बिहीबार गरी दुई दिन सैन्य अभ्यासको सुरु गरेको छ ।