फाइल तस्वीर


काठमाडौं – कौडीको मूल्यमा सरकारी जग्गा हडपेर थापाथलीस्थित नर्भिक अस्पतालले उपभोग गर्दै आएको जग्गामा निर्मित भौतिक संरचना हटाउन काठमाडौँ महानगरपालिकाले दिएको निर्देशनलाई उक्त अस्पताल प्रशासनले तत्काल हटाउन नसक्ने जानकारी गराएको छ । राजनीतिक शक्ति र आर्थिक अनियमितताको चरम दुरुपयोग गर्दै उक्त अस्पतालले त्यहाँ निर्मित संरचना हटाउन नसक्ने बताएको हो ।

अस्पताल प्रशासनले आज मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उक्त अस्पताका अध्यक्ष राजेन्द्रबहादुर सिंहले भाडामा लिएको भनिएको सरकारी जग्गामा निर्मित भौतिक संरचना तत्काल हटाउन नसकिने बताएका हुन् ।

देशको राजनीतिक अन्योल र अस्थिरताको मौका छोपेर अस्पतालले २७ वर्षको लागि २०६५ जेठ १ गते नेपाल सरकारसँग लिज सम्झौता गरेको थियो । वार्षिक ३८ हजार रुपैयाँमा अस्पतालले उक्त जग्गा भाडामा लिएको थियो । सरकारसँग लिज सम्झौता भएपश्चात् अस्पतालले लिजमा लिएको सरकारी जग्गामा अक्सिजन प्लान्ट, विद्युत वितरण प्यानल, खानेपानी र डायलासिस गर्ने संरचना निर्माण गरेको छ ।

अस्पतालका अध्यक्ष सिंहले पत्रकार सम्मेलनमा बोल्दै बिरामीको उपचारका निम्ति आवश्यक उपकरण राखी बिरामीको सेवा गरिरहेकाले काठमाडौं महानगरपालिकाले दिएको समयसीमामा ति संरचनाहरु खाली गर्न नसकिने बताएका छन् ।

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्रीको उपस्थितिमा काठमाडौ महानगरपालिकाले भाडामा लिएको सरकारी जग्गामा निर्मित भौतिक संरचनाहरु तुरुन्त हटाउनु भनि २४ घण्टे अल्टिमेटम सहितको निर्देशन दिएको थियो । महानगरपालिकाले दिएको समयसीमा भित्र ति संरचना नहटाए कानुनी कारवाहीको प्रक्रियामा जाने चेतावनी दिएको छ ।

नर्भिक अस्पतालले लिज सम्झौता अनुसार भाडामा लिएको १ रोपनी ८ आना सरकारी जग्गाको पश्चिमतर्फ सम्झौताविपरीत र नक्सा पास नगरी घर टहरा बनाएको भन्दै संरचना २४ घण्टाभित्र हटाउन हिजो सोमबार महानगरपालिकाका मेयर बालेन साहले आफै उपस्थित भै अस्पताल प्रशासनलाई निर्देशन दिनुभएको थियो ।