काठमाडौं – सयपत्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई सार्वजनिक निष्काशन मार्फत बिक्री गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले आज मङ्गलवार बिहान आफ्नै कार्यालयमा आईपीओ बाँडफाँड गरेको हो ।

बिक्री प्रबन्धकका अनुसार सार्वजनिक निष्काशनमा आएको आईपिओ खरीदका लागि १४ लाख १३ हजार ५ सय ७२ जनाले आवेदन दिएका थिए । जस मध्ये ८ सय ७३ जनाको आवेदन रितपूर्वक नभएकाले रद्द गरिएको छ । स्थानीयको हैसियतले यस अघिनै शेयर पाएका २ सय ३१ जनाको आवेदन पनि अस्वीकृत गरेको बिक्री प्रबन्धकले जनाएको छ ।

यी बाहेक योग्य १४ लाख १२ हजार ४ सय ६८ जना आवेदकहरूलाई गोलाप्रथाको माध्यमबाट गरिएको बाँडफाँडमा सहभागी गराइएको हो । गोलाप्रथाबाट ६७ हजार ५८ जनाले मात्र शेयर पाएका छन् । शेयर पाउने आवेदकहरूमध्य ६ जना भाग्यमानीले ११ कित्ता शेयर पाएका छन् भने बाँकीले १० कित्ताको दरले शेयर हात पारेका छन् । कम्पनीको आईपीओ खरीदका लागि आवेदन दिने १३ लाख ४६ हजार ५ सय १४ जना आवेदकको हात भने खाली भएको छ ।

कम्पनीले साउन १३ गतेदेखि साउन १७ गतेसम्म सर्वसाधारणमा आईपीओ बिक्री गरेको थियो । सार्वजनिक निष्कासशन मार्फत बिक्री गरेको सहित कम्पनीले सर्वसाधारणमा कुल ७ लाख २१ हजार ६० कित्ता आईपीओ वितरण गरेको छ । सर्वसाधारणमा आयोजना प्रभावित स्थानीयमा बिक्री हुन नसकेको १ लाख २१ हजार ६० कित्ता शेयर समेत थप गरी वितरण गरिएको हो । सर्वसाधारणमा वितरण भएको कुल कित्ता आईपीओमध्ये २ प्रतिशतले हुन आउने १४ हजार ४ सय २१ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँड गरिसकेको बताएको छ ।