काठमाडौं – धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि आईपीओ (प्राथमिक सेयर) निष्काशन बिक्री खुला गरेको छ । कम्पनीले १०० रुपैयाँ अङ्कित मूल्यका दरले हुन आउने तीन करोड ३१ लाख रुपैयाँ बराबरका तीन लाख ३१ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन गरेको हो । कम्पनीले निष्काशन गर्ने कुल सेयरमध्ये ० दशमलव ५ प्रतिशत अर्थात् पाँच हजार १५५ कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् १६ हजार ५५० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको छ । बाँकी रहेको तीन लाख नौ हजार २९५ कित्ता आईपीओका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा मागबमोजिम आवेदन नपरे आउँदो भदौ ७ गतेसम्म आवेदनका लागि समय थप हुनेछ । लगानीकर्ताले न्यूनतम १० देखि एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । इच्छुक आवेदकले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङमा केयर रेटिङ्स नेपालले लघुवित्तलाई केयरएनपी डबल बी माइनस आईएस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको बुझिन्छ ।

हाल कम्पनीको चुक्ता पुँजी सात करोड रुपैयाँ छ । यो आईपीओ निष्काशन गरी बाँडफाँड गरेपश्चात् कम्पनीको चुक्ता पुँजी १० करोड ३१ लाख रुपैयाँ पुग्नेछ । आर्थिक वर्ष २०७७÷७८ को अन्त्यसम्ममा कम्पनीको वास्तविक सञ्चित नाफा दुई करोड ५९ लाख रुपैयाँ छ । उक्त अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ४४ पैसा छ । प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ६६ पैसा छ । यो कम्पनीले धितोपत्र दोस्रो बजारमा १४८ रुपैयाँ ६६ पैसादेखि ४४५ रुपैयाँ ९८ पैसासम्म मूल्य रेञ्ज पाउने देखिन्छ । कम्पनीले पहिलो कारोबारका लागि वास्तविक प्रतिसेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज पाउने गर्छ ।