फाइल तस्वीर


काठमाडौं – सरकारका अर्थमन्त्री जनार्दन शर्माले बजेटभाषणमा घोषणा अनुसार नै कर्मचारीहरुको तलब वृद्धि हुने बताएका बताउनु भएको छ । चोर बाटोबाट मुख्य सचिवदेखि शाखा अधिकृतसम्मको तलबवृद्धि भएको भन्दै नायव सुब्बा तहका कर्मचारीहरु देशभर आन्दोलनमा उत्रिएपछि अर्थमन्त्री शर्माले बजेट भाषणमा उल्लेख भएअनुसार मात्रै तलब वृद्धि हुने बताउनु भएको हो ।

सरकारले चोर बाटोबाट निजामति सेवाका मुख्यसचिवदेखि शाखा अधिकृतसम्मका कर्मचारीहरुको तलब वृद्धि गरेको थियो । उक्त तलब वृद्धि गर्ने निर्णय सार्वजनिक भएसँगै निजामती सेवाका नायव सुब्बा तहका कर्मचारीको अधिकृतको तलब वृद्धिका विरुद्धमा आन्दोलनमा उत्रिएका थिए । नायव सुब्बा तहका कर्मचारीहरुले बजेट घोषणा विपरीत तलब वृद्धि गरिएको आन्दोलित भएपछि अर्थमन्त्री शर्माले १५ प्रतिशत मात्र तलब वृद्धि गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

अर्थमन्त्री शर्मा हिजो सोमबार निजामती कर्मचारी युनियनका पदाधिकारीसँग भएको भेटघाट र छलफल पश्चात् जेठ १५ गते भएको बजेट भाषणमा घोषणा गरिए अनुसार नै तलब वृद्धि हुने बताउनु भएको हो । विभिन्न राजनीतिक दलसँग निकट पाँच कर्मचारी सङ्गठनका अध्यक्षहरुसँगको भेटमा अर्थमन्त्री शर्माले तत्काल बजेट घोषणा अनुसार नै १५ प्रतिशत तलब वृद्धि लागु गर्ने र नमिलेका विषय ‘पे कमिशन’ गठन गरेर मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

बजेट भाषण अनुसार सबै राष्ट्र सेवक कर्मचारीहरुको तलब १५ प्रतिशत वृद्धि गर्ने उल्लेख छ । तर, पछि कर्मचारीहरुको नयाँ तलबमान १५ देखि २४ प्रतिशतसम्म वृद्धि भएको विवरण सार्वजनिक भएपछि विवाद उत्पन्न भएको थियो । अधिकृतस्तरको तलब वृद्धि भएको सार्वजनिक भएसँग निजामती सेवाका राजपत्रअनङ्कित कर्मचारीहरु आज देशैभरका कार्यलयहरुमा भैपरी विदा लिएर अनुपस्थिति रहने गरी आन्दोलनमा उत्रने कार्यक्रम तय भएको थियो ।