काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को कारोबारमा १७ दशमलव ६८ अङ्कले गिरावट आएको छ । साताको प्रथम कारोबारमा १० अङ्कले बढेको बजार परिसूचक दोस्रो कारोबारमा भने १८ अङ्कले घट्न पुगेको हो ।

आज बजार परिसूचक ० दशमलव ८३ प्रतिशत घटेर २१०६ दशमलव १५ मा ओर्लिएको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ३ दशमलव ४१ अङ्कले घटेर ४०६ दशमलव १४ मा झरेको छ ।

सेयर बजारमा झन्डै १८ अङ्कले बजार घट्दा आज २ अर्ब ८५ करोड ७० लाख ७२ हजार ९ सय ६१ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । सोमबार २१४ कम्पनीका ६५ लाख २७ हजार ४ सय १४ कित्ता सेयर ४४ हजार ५ सय ५३ पटकमा खरिद बिक्री भएको थियो। घट्दो बजारमा पनि सोमबार ५० कम्पनीको सेयर मूल्य बढेको छ भने १२३ कम्पनीको सेयर मूल्य घटेको छ ।

गुराँस लघुवित्त तथा हिमालयन हाइड्रो पावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । उप–समूह तर्फ सोमबार म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ तथा म्युचुअल फण्डको सेयर मूल्य बढ्दा बाँकी ११ समूहका सेयर मूल्य घटेका छन् ।