फाइल तस्वीर


पिङ्गटुङ – चीनले ताइवानलाई घेरेर आक्रमणको तयारी गरेको भन्दै ताइवानी सेनाको युनिटहरूको लडाईं तयारीका लागि दुईदिने पिंगटुङ काउन्टीमा योजनाबद्ध रुपमा लाइभ–फायर आर्टिलरी अभ्यासहरू सञ्चालन गर्ने भएको छ । चिनियाँ जनमुक्ति सेना (पीएलए) ले ताइवान वरपरका छवटा सामुद्रिक क्षेत्रहरूमा चारदिनको लाइभ फायर अभ्यास गरेपछि ताइवानले सैन्य अभ्यासको घोषणा गरेको हो ।

चीनले चार दिनदेखि ताइवानको आसपासमा सैन्य दस्ता उपस्थित गराउँदै आएको थियो । चीनले आजै फेरि नयाँ लाइभ फायर अभ्यासको घोषणा गरेको छ । तर, अभ्यास कहाँ र कहिलेदेखि गर्ने भन्नेबारे कुनै जानकारी दिएको छैन । चिनियाँ सेनाले आज सोमबार ताइवान वरपरको समुद्री र हवाई क्षेत्रमा नयाँ सैन्य अभ्यासको घोषणा गरेको हो ।

ताइवानले पनि मङ्गलबार र बिहीबार गरी दुई दिन चीनलाई जवाफ दिन सैन्य अभ्यास गर्ने घोषणा गरी तयारी सुरु गरेको जनाएको छ । काउन्टीको फोङग्याङ नजिकै हुने सैन्य अभ्यासमा ७८ वटा १५५ एमएम स्व–चालित तोप र छ वटा १२० एमएमको सानो तोपहरू समावेश हुने ताइवानको पत्रिका ताइपेई टाइम्सको अनलाइन संस्करणमा उल्लेख गरेको छ । तिनीहरू आठौं आर्मी कोप्र्सको ४३ औं आर्टिलरी कमाण्ड र ३३३ औं मेकानाइज्ड इन्फन्ट्री ब्रिगेड, हुआलियन तथा ताइतुङ काउन्टीहरूमा रक्षा कमाण्डहरू र तटरक्षकहरूद्वारा सञ्चालन हुने जनाइएको छ ।

ताइवानी सेनाले आगामी सेप्टेम्बर ५ मा पिङ्गटुङमासमेत वार्षिक अभ्यास गर्ने भएको छ । जुन अभ्यासमा संयुक्त हतियार बटालियनहरू, लडाईंमा प्रयोग गरिने ट्याङ्क तथा बख्तरबन्द बाहनहरू समावेश उचारिने भएका छन् । सेनाको एएच वान डब्लु सुपर कोब्रा र एएच ६४अपाचे हेलिकप्टर अभ्यासको क्रममा तैनाथ गरिने गोपनीय स्रोतलाई उदृत गर्दै ताइपेई टाइम्सले जनाएको छ ।

अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको गत हप्ता भएको ताइवानको भ्रमण पछि चीन र अमेरिकाबीच ताइवानको विषयमा थप तिक्तता बल्झिंदा चीन र ताइवानबीच युद्ध हुनसक्ने सम्भावना देखिएको हो । अमेरिकाले ताइवानलाई चीनको विरुद्ध लडाईं लड्न उक्साइरहेको विश्लेषण गरिएको छ । सभामुख पेलोसी एशियाली केही देशहरुको भ्रमणमा निस्किएर सिङ्गापुर, मलेसिया हुँदै ताइवान पुगेकी थिइन ।