काठमाडौं – साताको पहिलो दिन आज आइतबार सेयर बजार परिसूचक दोहोरो अङ्कले बढेको छ । आइतवार बजार परिसूचक अङ्क १० दशमलव २७ अङ्कले बढेको हो ।
गत साता निरन्तर ४ दिन घटेर २११३ दशमलव ५५ मा झरेको समग्र बजार परिसूचक आजको कारोबार पश्चात २१२३ दशमलव ८२ अङ्कमा उक्लिएको छ । आज बजार परिसूचक ० दशमलव ४९ अङ्कले बढेको छ । यस्तै ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ० दशमलव ७६ को सामान्य अंकले बढेर ४०९ दशमलव ५६ मा उक्लिएको छ ।

यस्तै उप–समूहतर्फ कारोबारमा जीवन बीमा समूह घटेको छ भने बाँकी १२ समूहको सेयर मूल्य सामान्य बढेको छ । बढ्दो बजारका बीच आज कारोबार भएका ११८ कम्पनीको सेयर मूल्य बढेको छ भने ५९ कम्पनीको सेयर मूल्य घटेको छ । बजार १० अङ्कले बढेपनि आइतवार कारोबार रकममा भने कमी आएको छ ।

गत साताको पहिलो कारोबारमा ४ अर्बमाथि कारोबार भएको बजारमा आज भने २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २ सय ३२ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । २१९ कम्पनीका ६१ लाख ६ हजार ५ सय २१ कित्ता सेयर ४४ हजार २४० पटकमा किनबेच भएको छ । आइतवार मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्थाको सेयरमा सकारात्मक सर्किट ब्रेकर लागेको छ ।