बङ्गलादेश – बङ्गलादेशमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर हिंसात्मक विरोध प्रदर्शन भएको छ । शुक्रबार सरकारले पेट्रोलको भाउ ५१ दशमलव ७ प्रतिशत तथा डिजेलको भाउ ४२ दशमलव ५ प्रतिशतले बढाएको थियो । त्यसैको विरोधमा मानिसहरुको सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

तेलको मूल्यवृद्धिको विरोधमा भएको प्रदर्शनको क्रममा धेरै सहरमा आगजनी र ढुङ्गा प्रहारका घटना भएका थिए । प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीलाई पनि बल प्रयोग गर्नुपरेको थियो । शनिबार तेलको मूल्यवृद्धिको निर्णय लागू हुनुभन्दा पहिला नै ठूलो संख्यामा मानिसहरु देशभरका पेट्रोल पम्पमा पुगेका थिए। यससँगै पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थको बिक्री रोकेका थिए । त्यसपछि प्रदर्शनले उग्र रुप लिएको हो ।

प्रदर्शनकारीहरुले पेट्रोलियम पदार्थको मूल्य बढेसँगै लाखौंको रोजीरोटीमा असर परेको बताएका छन् । बङ्गलादेशको ऊर्जा सङ्कटको असर विद्युत् आपूर्तिमा पनि परेको छ । अहिले बङ्गलादेशको केही क्षेत्रमा दैनिक १३ घण्टासम्मको विद्युत् कटौती भइरहेको छ । यसैबीच बङ्गलादेशको ऊर्जा मन्त्रालयले भने विश्वव्यापी अवस्थालाई मध्यनजर गर्दै तेलको मूल्यवृद्धि रोक्न नसकिने बताएको छ । मन्त्रालयले आफूहरुसँग कुनै विकल्प नभएको भन्दै मानिसहरुलाई धैर्यधारणको लागि आग्रह गरेको छ ।