साङ्केतिक तस्वीर

चतरा – सुनसरीको बराहक्षेत्र नगरपालिका १ चतरास्थित औलिया ज्वलर्सबाट साढे १० लाख रुपैयाँ बराबरका सुनचाँदीका गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय लक्ष्मण विकको पसलबाट चोरिएका सुनचाँदीका गहनासहित प्रहरीले चतराकै २६ वर्षीय अनिल बराइलीलाई पक्राउ गरेका हो ।

गए राति १ तलाको पक्की घरमा रहेको औलिया ज्वलर्समा घर पछाडि काठको ढोकाको कब्जा फुटाई लकर बाहिर राखिएको सुनचाँदी चोरी भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय चतरा र महेन्द्रनगरबाट प्रहरी टोली खटिएको थियो । घटनाको अनुसन्धानका क्रममा शुक्रबार राति साढे २ बजे शङ्का लागेर स्थानीय अनिल बराइलीको घरभित्र खानतलासी गर्दा प्रहरीले चोरिएका सुनचाँदीका गहना बरामद गरेको हो ।

बराइलीले दराजपछाडि कालो झोलामा लुकाएर राखेको अवस्थामा चोरीका सुनका गहना ६ तोला ८३ लाल र चाँदीको गरगहना २ सय ९७ तोला बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गहनाको मूल्य १० लाख ४० हजार ५ सय ९० रुपैयाँ अनुमान गरिएको प्रहरीले जनाएको छ । चोरी भएका सुनका गहनासहित बराइलीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले थप अनुसन्धान गरिरहेको जनाएको छ ।