काठमाडौं – भारतले साफ यू-२० च्याम्पियनसिप फुटबलको उपाधि हात पारेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा शुक्रबार भएको फाइनलमा बङ्गलादेशलाई अतिरिक्त समयमा ५-२ गोलले पराजित गर्दै घरेलु टोली भारतले उपाधि हात पारेको हो ।

भारतलाई जित दिलाउन गुर्किरत सिंहले ह्याट्रिकसहित ४ गोल गरे । यस्तै हिमान्सु जान्ग्राले एक गोल गरे । बङ्गलादेशका मोहमद रोजन र शाहीम मियाले एक-एक गोल गरे ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले २-२ गोल गरेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा खेलाइएको थियो ।  अतिरिक्त समयमा भारतले थप ३ गोल गरेपछि खेल ५-२ ले जितेको थियो । 

योसँगै भारतले बंगलादेशसँग यस  अघि समुह चरणमा २-१ को हारको बदला समेत लिएको छ । पाँच राष्ट्र सहभागी प्रतियोगिताको शीर्षस्थान दुईमा रहँदै बंगलादेश र भारतले फाइनल स्थान पक्का गरेका थिए । 

पहिलो पटक यु-२० आधारमा आयोजना भएको साफ च्याम्पियनसिप यस अघि यू-१९ र यू-१८ आयोजना हुदै आएको थियो । 

भारत प्रतियोगिताको साविक विजेता समेत हो । नेपालमा सन् २०१९ मा आयोजना भएको यु-१८ साफमा भारतले बंगलादेशलाई नै २–१ ले पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो । 

यसअघि यू-१८ र यू-१९ उमेर समूहमा भएको यो प्रतियोगिता भारतले दोस्रो पटक जितेको हो । यसअघि नेपालमा भएको तेस्रो संस्करण पनि भारतले जितेको थियो । त्यसअघि सन् २०१५ र २०१७ को उपाधि भने नेपालले जितेको थियो ।

भारतमा जारी प्रतियोगितामा बंगलादेश चार खेलमा १० अंक जोड्दै शीर्षस्थानमा रहेर फाइनलमा पुगेको थियो भने भारत एक हार र तीन खेलमा जित निकाल्दै ९ अंक सहित दोस्रो स्थानमा रहेर फाइनलमा स्थान बनाएको थियो ।