काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकको आव.२०७८/७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरणहरू सार्वजनिक भएको छ । बैंकले यस अवधिमा रु.५ अर्ब २१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आ.व.को सोही अवधिमा बैंकको खुद मुनाफा ३ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो । यस अवधिमा कर्जा लगानी तथा गुणस्तरमा उल्लेखनीय सुधार भई ब्याज आम्दानी बढेकाले खुद मुनाफा बढेको बैंकले जनाएको छ ।

आव २०७८/७९ को बैंकको खुद ब्याज आम्दानी रु.९ अर्ब ६७ करोड (गत वर्ष रु.८ अर्ब २४ करोड), कुल सञ्चालन आम्दानी रु.११ अर्ब २७ करोड (गत वर्ष रु.९ अर्ब ७६ करोड), सञ्चालन नाफा रु.७ अर्ब १ करोड (गत वर्ष रु.५ अर्ब ९ करोड), कुल समग्र आम्दानी रु.३ अर्ब ८ करोड (गत वर्ष रु.६ अर्ब ३७ करोड) तथा वितरणयोग्य मुनाफा रु.३ अर्ब ३ करोड रहेको छ ।

यससँगै २०७९ आषाढ मसान्तमा बैंकको ग्राहक निक्षेप रु.२ खर्ब ५९ अर्ब र खुद कर्जा तथा सापट रु.२ खर्ब २९ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही मितिको तुलनामा बैंकको निक्षेपमा १.८९ प्रतिशतले कमी र कर्जा तथा सापटमा १८ प्रतिशतले वृद्धि भएको छ । आ.व. २०७८/७९ मा बैैंकको सेयरधनी कोष रु.४ अर्ब १ करोडले वृद्धि भई रु.३३ अर्ब ४ करोड र कुल सम्पत्ति रु.१९ अर्ब रुपैंयाले वृद्धि भई रु.३ खर्ब २९ अर्ब पुगेको छ ।

२०७९ आषाढ मसान्तसम्ममा पुँजी कोष अनुपात १३ दशमलव ९७ प्रतिशत, कर्जा र निक्षेप अनुपात ८५ दशमलव ८९ प्रतिशत, आधार दर ७ दशमलव ६३ प्रतिशत, ब्याजदर अन्तर ४ दशमलव २९ प्रतिशत, कोषको लागत दर ६ दशमलव ०१ प्रतिशत तथा प्रतिसेयर आम्दानी रु.३४ दशमलव ९० रहेको छ । यस अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपातमा उल्लेखनीय सुधार भई २ प्रतिशतमा झरेको छ ।