काठमाडौं– वरिष्ठ सङ्गीतकार रञ्जित गजमेरलाई सम्मान गरिएको छ । नक्षत्र फाउन्डेशन र मेनुका मेमोरियल फाउण्डेसनले उनलाई सम्मान गरेको हो । दुई हप्ताका लागि मुम्बईबाट काठमाडौँ आएको अवसरमा वरिष्ठ सङ्गीतकार गजमेरलाई डेढ लाख नेपाली रुपैयाँसहित सम्मान गरिएको मेनुका मेमोरियल फाउण्डेसनले जनाएको छ ।

सम्मान कार्यक्रममा सञ्चारकर्मी तथा गीतकार डा. नवराज लम्सालले गजमेरले चार पुस्तासम्मलाई समेटेर सबै पुस्ताको मन मुटुमा बस्न सफल भएको बताउनुभयो ।

सम्मान कार्यक्रममा सङ्गीतकार गजमेरका गुराँस फुल्यो वनैभरि, मिर्मिरे साँझ सिमसिमे पानी, तिम्रो मनमा लुकेका कुरा, यो दुई थोपा आँशु, बस है आमा, किन बढ्दछ ढुकढुकीलगायतका गीतहरू गाइएको थियो ।