साङ्केतिक तस्वीर

काठमाडौं – काठमाडौँमा एक चिनियाँ नागरिकलाई अपहरण गरी फिरौती माग्ने ६ जना नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । हिजो बुधबार साँझ लैनचौरबाट एक चिनियाँ नागरिकलाई अपहरण गरी एक करोड फिरौती मागेको आरोपमा प्रहरीले ६ जना नेपालीलाई पक्राउ गरेको हो ।


उनीहरूले ती चिनियाँ नागरिकलाई लैनचौरबाट अपहरण गरेर गोंगबुमा बन्धक बनाएर राखेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार अपहरण गरी बन्धक बनाइएका चिनियाँको उद्दार गर्नुका साथै संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरी थप अनुसन्धान थालिएको छ ।


प्रहरी स्रोतका अनुसार ती चिनियाँ नागरिकबाट ८ लाख रुपैयाँ र २७ थान मोबाइलसमेत लुटिएकोे छ । अपहरणमा परेका चिनियाँसँग एक करोड फिरौतीसमेत माग गरिएको बुझिएको छ । पछि ५० लाख रुपैयाँमा अपहरणमुक्त गर्ने सहमति भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

परिसरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहराले पक्राउ पर्ने छ जना नेपाली नागरिक भएको जानकारी दिनुभयो । परिसरले पक्राउ परेका व्यक्तिहरूको विस्तृत विवरण सार्वजनिक गर्न बाँकी रहेको बताएको छ ।