काठमाडौं – साताको तेस्रो कारोबारको दिन आज सेयर बजार सामान्य अङ्कले घटेको छ । आज नेप्से परिसूचक २ दशमलव ८१ अङ्कले घटेको हो । सोमबारको कारोबारमा १ अङ्कले बढेको बजार आज भने झिनो अङ्कले घटेको छ ।

आज सेयर बजार परिसूचक २ दशमलव ८१ अर्थात ० दशमलव १३ प्रतिशतले घटेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीहरूको मापक परिसूचक ० दशमलव ०१ को झिनो अङ्कले घटेर ४२१ दशमलव १३ अङ्कमा ओर्लिएको छ । बजार घट्दा मङ्गलवार कारोबार रकममा पनि गिरावट देखिएको छ । आज ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७ सय ६ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

यस्तै ७८ लाख १३ हजार १ सय २ कित्ता सेयर ५० हजार ३ सय ६५ पटकमा खरिद बिक्री भएको छ । घट्दो बजारमा आज कारोबार भएका ८२ कम्पनीको सेयर मूल्य उकालो लागेको छ भने ९२ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । उप–समूहतर्फ व्यापार, जलविद्युत, फाइनान्स, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ, माइक्रो फाइनान्स, म्युचुअल फण्ड बढेको छन् भने अन्य उप–समूहहरूको सेयर मूल्य घटेका छन् ।