कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–३ सुभप्रभात टोलका सन्तोष पाण्डेयको घरका पाँच जनालाई ‘वर्थ डे केक’मा नशालु पदार्थ मिसाइ बेहोस बनाइ लुटपाट गर्ने कार्यमा संलग्न दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा सन्नी भनिने सेरा जाट र साहिल शर्मा छन् । विसं २०७८ माघ २१ गते पाण्डेयको घरमा कोठा भाडामा लिएर बस्दै आएका दुवै जनाले आफ्नो ‘वर्थ डे’ भएको जनाउँदै पाण्डेय परिवारलाई केकमा नशालु पदार्थ मिसाइ खान दिएका थिए ।

केक खाएपछि परिवारका सबै जना बेहोस भएपछि उनीहरूले गरगहना, मोबाइल सेट, ल्यापटपलगायतका सामग्री लुटेर फरार भएका थिए । लुटपाटमा संलग्न उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा ल्याइएको बताइएको छ ।