सुनसरी – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कार्यकक्षमा तोडफोड भएको छ । सहकारीले रकम हिनामिना गरेको विषयमा मेयर साम्पाङसँग छलफल गर्न पुगेको समूहले आइतबार उहाँको कार्यकक्षमा तोडफोड गरेको हो ।

धरानको बराह सहकारी बचतकर्ताको करिब ८ अर्ब रकम हिनामिना गरेको भन्दै आन्दोलित निक्षेपकर्ताको निशानामा मेयर हर्क साम्पाङ पर्नुभएको बताइएको छ । घटनाको भिडियो सामाजिक सञ्जालमा राख्दै मेयर साम्पाङले आफू पीडितको पक्षमा उभिँदा र छानबिन प्रकृया अघि बढाउन खोज्दा कार्यकक्षमा तोडफोड भएको बताउनुभएको हो ।

साम्पाङले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ’म पीडितको पक्षमा उभिँदा, छानबिन प्रकृया अघि बढाउन चाहँदा सबै प्रकृया विथोल्ने गरी मेरो कार्यालय तोडफोड गर्ने यिनीहरुलाई के भन्नु हुन्छ ! अब यसरी पिडितले न्याय पाउँलान् त ?’ उहाँले तोडफोड गर्नेमाथि कानुनी कारबाही गर्ने चेतावनी दिनुभएको छ ।